डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित





बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उक्त गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही सङ्ख्यामा वृक्षारोपण गरिने योजना छ ।

कार्यक्रमका लागि गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको र कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीलाई आग्रह गरिएको छ ।

अहिलेका लागि बर्खे फलफूलअन्तर्गत कागतीका बिरुवा वितरण गर्ने योजना रहेको जनाइएको छ ।मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनेहरुले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ ।

यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख छ । कृषिमार्फत उद्यमशीलतासँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

वातावरण संरक्षण गर्न सके मात्रै मानव जातीलाई सहज हुने भएकोले यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने जोशीको भनाइ थियो । यसअघि विश्व वातावरण दिवसका अवसरमा गाउँपालिका अध्यक्ष जोशीले मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।