बजारमा विषादी प्रयोग गरी पकाइएको आँप


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७९ मा प्रकाशित





मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए । विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकहरुले सुझाए ।

जिल्ला प्रशासन कार्यालयले पनि केही दिनअघि सूचना जारी गरी विषादी हालेर पकाइएको आँप बिक्री वितरण गर्न रोक लगाए पनि व्यापारीले चोकचोकमा खुलेआम विषादी हालेको आँपको विक्री गरिरहेको स्थानीयवासीको भनाइ छ । विषादी प्रयोग गरी पकाइएको आँप विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिएको सिरहा र सप्तरी जिल्लामा पनि विषादी हालेर पकाइएको आँप बिक्री भइरहेको बताइएको छ ।
–––


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।