फस्टाउँदै ‘ड्रागन फ्रुट’


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७९ मा प्रकाशित





तुलसीपुर। लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाएका छन् । उनले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनी खुशी छन् । ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ ।

त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोपेका छन । उनले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोप्नु भएको छ भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोपेका छन् । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो ।

साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बीचमा ६ लटसम्म वर्षमा फल प्राप्त हुने विष्टको भनाइ छ ।विष्टले वर्सेनि फल दिनेक्रम बढिरहेको बताए । विगतमा ३० क्वीन्टलसम्म फल भित्र््याउन सफल भएकोमा यसवर्ष ४० क्वीन्टलभन्दा बढी ड्रागन फ्रुट भित्र्याउने अपेक्षा लिनुभएको छ ।प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ ।

एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामम्म हुने गरेको उनी बताउछन् । विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहेका छन् । त्यही खेतीबाट उहाँले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन् । अहिले उनले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन्, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गरेका छन् । यसअघि पनि उनी कालो धानको खेती गरेर चर्चामा थिए । उनले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।