“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल


     एभरेस्ट आवाज    
     असार १ गते २०७९ मा प्रकाशित




कविता घर्तीमगर,पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ ,जहाँ एकान्त बस्ति छ,चारैतिर हरियाली वाताबरण छ ,मनै लोभ्याउने डाँडाकाँडा र झुलिरहेको धानका गराका फाँटहरुको विचमा एक चिटिक्क परेको घर छ , घरबाहिर प्रकृतिले सुन्दरता प्रवाह गरेर सवै मानवबस्तीलाई खुसि दिने प्रयास गरिरहेको भएतापनि त्यहि चिटिक्क परेको घरमा बस्ने मान्छेको मन भित्र भने पिडा छ,डर छ र सन्नता पनि ।

पिडित स्वास्थ्यकर्मी आमा र बाबासंग

छेउमा आमा भगवती कुमाल निराश र चिन्तित अनुहार लिएर खाटमा लडिरहेकी छोरी प्रजापति कुमालको घरि टाउको त घरि खुट्टा सुम्सुमाईरहन्छिन,छोरी लडिरहेको कोठामा सानो झ्याल छ ,झ्यालबाट घरछेवैको वेंसीमा सरर चलिरहेको बतासको वेगमा एकनाशले धान झुलिरहेको देख्न सकिन्छ,आमा भगवती त्यहि झ्यालबाट चिन्तित आँखाँ र मनहरु बाहिर झुलिरहेको धानको बालामा केन्द्रित गरेर टोलाईरहन्छिन् ।

मनमनै भक्कानिन्छिन् अनि आफै सम्हालिएर छोरी तर्फ फर्केर फेरी घाईते भई लडिरहेकी छोरीलाई सुम्सुम्याउछिन् । प्रजापति एउटा खाटमा,छेउछाउमा उनलाई भेट्न गएका साथी र आफन्तहरुको जमघट छ,उनी भने तन र मन दुवै घाईते भएको अवस्थामा आँखा बन्द गरेर आफैसंग अनेक प्रश्न गर्दै भक्कानिदै छन् सायद मन भित्रै भित्र ।

कसैले नयाँ नम्वरबाट फोन गरेमा डराउछिन् उनी,घटनाले भावनात्मक रुपमा बढी विछिप्त बनेकी उनी छेवैमा एकजना व्यक्तिविना एक्लै बस्ने अवस्था छैन ,त्यहि भएर उनका सहपाठीहरु पालौपालो उनकै घरमा बसिरहेका छन् आजकल ।

निकै अप्ठ्यारो प्रस्तुतिमा उनले घाईते हुनुको वृतान्त यसरी सुनाईन्, “जेठ २५ गते म तनहुँको व्यास नगरपालिका वडा नं. ९ स्थित गजुरे स्वास्थ्यचौकीको क्वाटरमै थिए एकाविहानै गेट बाहिर धोका खोल भन्दै गाँउकै अश्विना थापा गोदार दिदी आक्रोसित अवस्थामा चिच्याईरहनुभएको थियो,म त अचम्म पर्दै एकछिन ल्यहि अल्मलिए,”उनले भनिन् “काम छ भन्दै बाहिरबाट भन्दै धोका हानिरहे पछि किन बोलाएको भनेर गेट खोल्नेवित्तिकै गोदार क्वाटरभित्र पसेर एक्कासी कुटपिट गर्न थालिन् ।
उनले मुक्का र लात्तीले हान्ने, घाँटी थिच्ने गरेर कुटपिट गर्न थालिन् । म सकभर प्रतिकार गर्ने प्रयास गरे तर सकेन्,उनले कुटिरहिन् ।”

त्यसपछि बल्लतल्ल फुत्किएर गोदारलाई बाहिर घकेलेर ढोका लगाएपछि गाउलेलाई हारगुहार गरिको बताईन् । गाउँलेले धोका खोलेर उनको अवस्था बुझ्न खोज्दा गोदारले उनीमाथि पुनः आक्रमण गरी कुटपिट गरेको उनले बताईन् ।
पिडित स्वास्थ्यकर्मी कुमालका अनुसार कुटपिट गर्ने गोदारका सासु विरामी भएकोले उनि कार्यरत स्वास्थ्यचौकीमै नियमित उपचार गरिदै आएका हुनाले परिवारसंग पारिवारिक सम्बन्ध एकदम राम्रो थियो । “

उनको सासुलाई नियमित रुपमै हामीले चेकजाँच गर्दै आएका छौ, त्यहि क्रममा सवैसंग चिनजान र सम्बन्ध पनि छ,अघिल्लो राति उहाँका श्रीमान (धर्मराज गोदार) ले स्वास्थ्यको विषय लिएर म्यासेन्जरमा फोन गर्नुभएको थियो मैले भोली कुरा गरौला दाई भन्दै वाईफाई अफ गरेर सुतेकी थिए ,विहान श्रीमतिले आएर हिजो राति फोन किन उठाएनस् ?मेरो श्रीमानसंग किन लागिस? लगाएत तथानाम मुख छाड्दैै मेरो यो हाल बनाउनुभयो ।”

गाँउमा सवै महिलालाई आफ्नो श्रीमानसंग लागेको आरोप लगाउदै झगडा गर्दै हिडने गरेको गाउँलेको मुखबाट सुनेको तर अहिले त्यसको सिकार आफु पनि भएकोमा दुख लागेको बताईन् । “हामी स्वास्थ्य क्षेत्रबाट जनताको सेवामा समर्पित हुन्छौ,हरेक मान्छेहरुसंग हरेक समयमा भेट्ने र बोल्नुपर्छ,त्यो आवश्यकता र बाध्यता दुवै हो,”उनले भनिन्,“यहि कुरालाई नकरात्मक तरिकाले बुझेपछि स्वयम म र मेरो कर्म क्षेत्रको भविश्य के हुन्छ ?” जीवनमा पहिलो पटक चरित्रमाथी प्रश्न उठाएर आफुमाथी जुन घटना भयो त्यसले जीवनभरी नमेटिने गरि भावनामा चोट लागेको उनले गुनासो गरिन् ।

“म माथी जुन आरोप लगाएर कुटपिट गरियो, शारीरीक रुपमा भन्दापनि भावनात्मक रुपमा अझ बढी घाईते भएकी छु” भक्कानिदै भनिन्, “बच्चैदेखिको सपना थियो,स्वास्थ्य क्षेत्रबाट समाजको सेवा गर्छु भन्ने तर आज आएर त्यहि सपनाकै कर्मले जीवनमा नसोचेको चोट दियो ।”सेवाग्राही र हामीविच नङ र मासुको सम्बन्ध रहने भन्दै उनले जनताको सेवामा लागेपछि हरेक परिस्थितीमा जनतासंग परामर्श र भेटघाट हुन्छ सोही विषय नकरात्मक रुपमा लिएर आफु जस्तै सेवामा समर्पित व्यक्तिहरुको मनोभावनामा चोट दिने यस्ता खालका कार्य कसैले कहिले नदोहोराउन अनुरोध गरिन् ।

दुख गरि पालेर हुर्काएको छोरी,अहिलेसम्म पिट्नु त परैको कुरो हा,े चर्का बोली समेत नगरेको छोरीलाई यो आरोपमा अरुबाट कुटिदा दुख लागेको आमा भगवतीले सुनाईन् । “आफ्नो बालबाच्चा अरुबाट कुटिदा हुन्छ ?त्यो दुख आमाले शव्दमा बयान गर्न सक्दैन्” भक्कानिदै गर्दा उनको गला अवरुद्ध भयो, “मेरो छोरीको चरित्र कस्तो छ । के सम्म गर्न सक्छे त्यो कुरा एउटी आमालाई बाहेक अरुले नजरअन्दाज पनि गर्न सक्दैनन् ।” उनले भनिन्, “एउटी मात्रै छारी हो,तनहँुमा यस्तो घटना भएछ,प्रजापति विरामी छ भनेर फोन आयो,के भएछ भन्दै जादा छोरी रग्ताम्ये भएर अस्पतालको बेडमा बेहोस थिई,मलाई रिंगाटा लाग्यो त्यसपछि थाहै पाएन् भन्दै उनको गला अवरुद्ध भयो ।

घटना पश्चात दमौली अस्पतालमा उपचारका लागि लगिएकोे थियो त्यस पछि थप उपचारका लागि पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरा ल्याईएको थियो ,अहिले उनी डिसचार्ज भएर घरमै आराम गरिरहेका छन् । २५ गते कुटपिट भएपछि २६ गते तनहँु जिल्ला अदालतमा कुटपिट तथा मानहानी मुद्धा दर्ता गरिएको छ । मुद्धा दर्ताभएपछि पिडकपक्षबाट मुद्धा फिर्ता गर्ने नत्र फर्किएर सोही स्थानमा काम गर्न खतरा हुने भन्दै धम्की सहितका दबाव आईरहेको पारिवारिक स्रोतले जनाएको छ । तर चरित्रमाथी आरोप लगाएर कुटपिट गर्नेलाई कानुन वमोजिम कार्वाही भएमात्रै भावनात्मक पिडा कम हुने पिडित स्वास्थ्यकर्मीको भनाई छ ।

अव पुनः सोहि स्थानमा काम गर्नको लागि छोरीलाई असुरक्षा भएकोले अरु ठाउँमा नै सरुवा गरिदिन सम्बन्धित निकायसंग आमा भगवतीले हात जोडेकी छिन् । कुटपिटबाट उनको टाउको,घाँटी,अनुहारमा चोट लागेको छ भने पुरै जिउमा भित्रि दुखाई रहेको छ । पिडित स्वास्थ्यकर्मीको एक दाई जापानमा छन् भने घरमा आमाबाबा र भाई छन् । उनी विगत ५ वर्ष अगाडीबाट स्थाई रुपमा उक्त स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिईन् ।

यता कुटपिट गर्ने पिडक महिला प्रहरीको नियन्त्रणमा रहेकोले उनको श्रीमान धर्मराज गोदारसंग घटनाबारे बुझ्न खोज्दा सामान्य विषय हो अरु केहि होईन है भन्दै फोन काटेका थिए भने पुनःसम्पर्क गर्न खोज्दा फोन काटेर प्रतिक्रिया दिएनन् ।

सेवाग्राहीबाट कर्मचारी र कार्मचारीबाट सेवाग्राही कुटिनु कुनै नौलो घटना भने होईन । स्वास्थ्यकर्मी कुमाल प्रतिनिधी पात्र मात्रै हुन् । यस अगाडी पनि विभिन्न क्षेत्रमा विभिन्न वाहाना बनाएर सरकारी तथा नीजि कार्यलयका कर्मचारीहरु सेवाग्राहीहरु कुटिएका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् ।

यस्ता खालका घटना कम गर्नको लागि कर्मचारीले सेवाग्राहीको संवेदनशिलतालाई ध्यान दिएर सेवाप्रवाह प्रकृयाको विषयमा बुझ्नेगरि सम्झाउनुपर्छ,नम्र बोली र पारिवारिक वाताबरण सिर्जना गर्नेले जस्तो खालको स्वभावको सेवाग्राहीलाई पनि सभ्य बनाउन सहयोग गर्दछ ,र यता सेवाग्राही पनि प्रकृया नबुझि छिटो र छरितो सेवाको अपेक्षा मात्रै नगरि त्यस भित्रको आन्तरिक प्रकृयाको बारेमा पनि जानकार हुन आवश्यक छ ।

एउटा उखान छ नी,“ रिसले आफुलाई खा,ँ वुद्धिले अरुलाई खाँ” दुवै पक्षको आक्रोशले निम्त्याएका हुन्छन् यस्ता घटना । आवेगमा आएर कुट्नु र कुटिनु राम्रो काम त पक्कै होईन,फुर्सदमा दुवै पक्षलाई पछुतो महसुस् अवश्य हुन्छ तर त्यो भन्दा अगाडी दुवै पक्षले काम, कर्तव्य,अधिकार,प्रकृया र कानुनी कुराहरुमा पनि ध्यान दिन जरुरी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।