सर्लाही । जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने की नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे ।धान रोपाइँको बेला भइसके पनि रासायनिक मल हामीले कहिले पाउने हो भन्ने आसमा बस्नुपरेकोे अर्का किसान कपिल साहले बर्ताए ।समयमा मल नदिने सरकारलाई भारतबाट किसानले मल किनेर ल्याउँदा सुरक्षाकर्मी लगाएर नखोस्न र बल प्रयोग नगर्न पनि स्थानीय किसानको माग छ ।
नेता, मन्त्री र जिम्मेवार अधिकारीको वक्तव्य आउँछ तर मल आउँदैन । रोएका किसानको फोटो आउँछ, किसान लाइनमा बस्छन् तर मल आउँदैन, मल नपाउँदा र समयमै बालीनाली लगाउन नपाउँदा फल लाग्दैन, हामी के खाएर बाँच्ने सरकार अर्का किसान रामविनोद यादवले भन्नुभयो ।जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब ७२ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
धान बालीका लागि कम्तीमा ४४ हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयले जनाएको छ तर धान रोपाइँकै समयमा जिल्लामा मल अभाव छ । नेपालमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलको हो । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनीले ७० प्रतिशत मल ल्याउने गरे पनि जिल्लामा आवश्यक मात्रामा मल अभाव पुरानै व्यथा रहेको उक्त केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशबाहले बताए ।
सरकारको प्राथमिकतामा कृषि छ कि छैन भन्ने कुरा किसानले मल नपाएबाटै स्पष्ट भएको प्रदेशसभा सदस्य बेची लुगेलीले बताए । मल आपूर्तिको व्यवस्था नमिलाएको र धान रोप्ने बेलामा गोदाम रित्तै भएको भन्दै सांसदले समेत आपत्ति जनाएका छन् । मल खरिदमा ठूलो रकम चलखेल हुने भएकाले समयमै र मागे जति मल किसानले नपाउने गरेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी९कमल०ले बताए ।
चालू आथिर्क वर्षको हालसम्म करिब डेढ लाख टन मल खरिद भएको सरकारले बताएको भए पनि सबैभन्दा धेरै मल आवश्यक पर्ने समयमै गोदाम रित्तै छन् । मल खरिद गर्न सरकारले ग्लोबल टेण्डर गर्ने गर्छ । यस पटक अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेकाले टेण्डरबाट खरिद नगरिएको जनाइएको छ । कृषि सचिव गोविन्द शर्मा र भारतका तर्फबाट रासायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीबीच जीटूजी प्रक्रियामार्फत भारतबाट पाँच वर्षसम्म मल ल्याउन गत फागुनमा समझदारी पत्रमा हस्ताक्षर भएको पनि बताइएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







