बाढीले दमकका १३ परिवार विस्थापित


     एभरेस्ट आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित





दमक। लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् । केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कटान परेका परिवाराई गएराति नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

यसैगरी, आज बिहान नै रतुवा खोलामा बाढी आउँदा गौरादह–६ स्थित टङ्गुवा बस्तीमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र बस्तीमा दुई फिटजति पानी पसेको तर क्षति भने नभएको उपरीक्षक पाठकले बताए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।