भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१


     एभरेस्ट आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित





भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।

भारतमा आइतबार १२ हजार ७८१ कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३३ लाख भन्दा बढी पुगेका छ । यसमध्ये ७६ हजार ७०० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१६ प्रतिशत हो ।पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६२ प्रतिशत रहेको छ ।कोरोना महामारीबाट आइतबार भारतमा १८ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८५० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १९ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।