क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट


     एभरेस्ट आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित




म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–युनाइटेडद्वारा सञ्चालित अस्थायी क्रसर उद्योग । तस्वीर ; सन्तोष गौतम ; रासस


काठमाडौँ। सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारले निर्णयविरुद्धमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, खानी तथा भूर्गभ विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठ, राजु फुयाँल र राकेशकुमार साहले दायर गर्नुभएको रिट निवेदनमा उक्त माग गरिएको हो ।

अदालतले उक्त विवादको सुनुवाइका लागि यही असार ८ गते पेसी तोकेको छ । रिट निवेदनमा उक्त कार्यका लागि सरकारको निर्णयभन्दाअघिको प्रस्ताव पेश गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत वैशाख १३ र २२ गतेको निर्णय र पत्राचार भएको भए उत्प्रेषणको आदेशले बदर गर्न मागसमेत गरिएको छ ।

ढुङ्गा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ को दफा ४९१०० मा साविकमा भएको घनाबस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको ५०० मिटर दूरीभित्र नदी भन्ने वाक्यांश हटाइएको हुँदा संशोधन भएको मापदण्ड तत्काल खारेज गरी साविकको मापदण्ड कायम गर्नु भन्ने परमादेश जारी गर्न माग रिट निवेदनमा गरिएको छ ।

ढुङ्गा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ लागू भए तापनि अवैधरुपमा क्रसर उद्योग सञ्चालन भई नदीनाला दोहन हुनाका साथै अवैधरुपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन गरी बिक्री गरिरहेकाले अवैधरुपमा सञ्चालनमा रहेका यस्ता क्रसर उद्योगलाई सञ्चालन गर्नबाट रोक लगाई नियमित अनुगमन गर्नु÷गराउनु भनिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।