गडहरे गुफाको दोस्रो चरणको ‘भूभौतिकी सर्भे’प्रतिवेदन सार्वजनिक


     एभरेस्ट आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित




स्याङ्जाको भिरकोट नगरपालिका–८ र ९ को सीमामा अवस्थित गडहरे गुफाको दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा रहेको गडहरे गुफाको विकासका लागि दोस्रो चरणको ‘भूभौतिकी सर्भे’ गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

भिरकोट नगरपालिकाको पहल र त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेल नेतृत्वको भूगर्भविद् तथा सहायक भूगर्भविदहरुको एघार जनाको समूहले सर्भे गरी प्रतिवेदन नगरपालिकालाई बुझाएको हो ।

पहिलो चरणमा गुफाको ‘भौगर्भिक सर्भे’ गरेपश्चात् गुफाभित्र ६७८ मिटरभन्दा भित्र छिर्न नसिएकाले त्यहाँभन्दा अझै भित्रको अवस्थाबारे अध्ययन गर्नका लागि छुट्टै विधि ‘भूभौतिकी सर्भे’ गरिएको डा कविराज पौडेलले बताए ।

गत भदौमा पहिलो चरणको ‘भौगर्भिक सर्भे’ पश्चात् गुफाको बाहिरी तथा भित्री भूबनोट, गुफाभित्रका विभिन्न आकृति, ढुङ्गा खस्न सक्ने जोखिम भए÷नभएको, गुफाको बाहिरी भित्री संरचनाका बारेमा प्रतिवेदन तयार पारेर सार्वजनिक गरिएको थियो ।

दुवै चरणको अध्ययनपश्चात् गुफाभित्रको प्रत्येक १०÷१० मिटरको दूरीमा रहेका संरचनाहरु, चट्टानको प्रकारहरु, चट्टान खस्ने, जमिन भासिने जोखिम भए÷नभएको सम्पूर्ण अवस्थाबारे प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ । गुफाभित्र जमिन भासिने, चट्टान खस्नेजस्ता समस्याहरु नरहेको जनाइएको छ ।

गुफाभित्र विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएको अध्ययन टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको भिरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

गुफाको प्रचारप्रसारसँगसँगै पूर्वाधारको विकास गरेर त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा पहिचान दिने गरी योजनाहरु अगाडि बढाउने प्रमुख कर्माचार्यले जानकारी दिए । गुफाभित्र र बाहिरको दुवै चरणको अध्ययनको प्रतिवेदनबाट प्राप्त सुझावलाई नगरपालिकाका तर्फबाट कार्यान्वयनमा लगिने प्रमुख कर्माचार्यले बताए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।