५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजबाट


     एभरेस्ट आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित



आज (बिहीबार) देखि ५ देखि ११ वर्षसम्मका बालबालिकाले बिहीबारदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको हो।

असार ९ देखि १५ गतेसम्म बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप अभियान नै संचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ।

बालबालिकालाई दिन लागिएको फाइजर खोप सुरक्षित रहेको भन्दै मन्त्रालयले नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरेको छ।

बिहीबारदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरीमा खोप अभियान सञ्चालन हुनेछन्। यसैगरी पहिलो चरणको खोप अभियान बागमती प्रदेशका काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशका कास्की र नवलपरासी पूर्वमा बालबालिकालाई फाइजर खोप लगाइने छ।

लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत जिल्ला र सुदुरपश्चिम प्रदेशका लागि कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकाका लागि पहिलो चरणको खोप अभियान सञ्चालन हुँदैछ।

बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई दोस्रो चरणमा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।