‘गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्’


     एभरेस्ट आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित





काठमाडाँै। प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।उनले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उनले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताए । उनले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गरे ।उनले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय ग¥यो भनी प्रश्न गरे ।

सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोखे । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गरे ।विशेष समयमा सांसद डा डिला सङ्ग्रौला पन्तले विराटनगर विमानस्थलको काम तुरुन्त सुरु हुनुपर्नेमा जोड दिए । उनले सडक सङ्घर्ष गरिरहेका नागरिकको माग सम्बोधन गर्न र विपद् व्यवस्थापनमा लाग्न आग्रह गरे ।

सांसद शक्तिबहादुर बस्नेतले मौलिक हक कार्यान्वयनका लागि केही कानुन नबनेको र बनेका पनि राम्ररी कार्यान्वनय हुन नसकेको गुनासो पोखे । सांसद गजेन्द्रबहादुर महतले ओरालो लागेको शेयर बजारको विषयमा गम्भीर हुन आग्रह गरे ।सांसद सूर्यप्रसाद पाठकले सशस्त्र प्रहरीमा बढुवा, सरुवामा भएको नातावादका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनले सर्वोच्चको फैसलाका विपरीत प्रहरी नियमावलीहरू संशोधनको प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।सांसद गङ्गा चौधरीले जताततै भ्रष्टाचार, बिचौलियाको कमिशन देख्दा समाज कतातिर जाँदै छ भनेर प्रश्न उठाए । विशेष समयमा सरलाकुमारी यादव, प्रमोदकुमार यादव, नवराज सिलवाललगायतले धारणा राखेका थिए ।

बैठकमा सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका जीवन सङ्गिनी शोभा प्रधानको निधनप्रति शोक वक्तव्य प्रस्तुत गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।