सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता ः शिक्षामन्त्री


     एभरेस्ट आवाज    
     असार १२ गते २०७९ मा प्रकाशित





काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए ।

उनले विद्यालय सुदृढीकरण गर्न विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम तथा प्राविधिक तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिए । आगामी वर्षबाट शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रको पूर्वाधारको विकास, शैक्षिक गुणस्तर सुधार, कानुनी सुधारलगायतका विषयलाई प्राथमिकता दिएको उनले प्रस्ट पारे ।

उच्च शिक्षालाई सुधार गर्ने मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ छ । शिक्षाका दरबन्दी मिलान तथा दरबन्दी थपका समस्या आगामी आर्थिक वर्षमा पूर्ण रुपमा समाधान गरिने बताउँदै उहाँले शिक्षालाई सीपमूलक र व्यावहारिक बनाउँदै रोजगारमूलक बनाउने सरकारको योजना रहेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।