जिल्ला प्रहरी कार्यालय कास्की भित्र पुस्तकालय स्थापना


     एभरेस्ट आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित




पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ । जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो ।

जिप्रकाको मुख्य भवन भन्दा पूर्व दक्षिणतर्फ छुट्टै एकतले भवन निर्माण गरेर बनाइएको पुस्तकालयको सोमबार नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायक त्रय डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे ।

जिप्रका कास्कीको आफ्नै खर्चमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । पुस्तकालय स्थापनाका लागि पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले संस्थागत सहयोग गरेको उनले जानकारी दिए । एसपी थापाले भने,‘ज्ञानको भण्डार स्थापना गर्नेजस्तो पवित्र ठाउँ बनाउँदा अपवित्र ठाउँबाट खर्च लिनु हुँदैन भन्नेमा हामी दृढ छौं र त्यस्ताबाट सहयोग नलिई निर्माण ग¥यौं ।’ पुस्तकालयसँगै कफी जोनपनि राखिएको छ । जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन् ।

समाजलाई प्रहरीसँग जोड्ने उद्देश्यले स्थापना गरिएको सो पुस्तकालयमा सबै नागरिकको पहुँच हुनेछ । अर्थात जोकोहि व्यक्तिले त्यहाँ गएर पुस्तक अध्ययन गर्न पाउनेछन् । साथै थुनुवालाईपनि पालैपालो आफूले चाहेको पुस्तक अध्ययन गर्न दिईने एसपी थापाले बताए ।

एसपी थापाले पुस्तकालय निर्माण गर्नुको दुई उद्देश्य रहेको बताए । उनले भने,‘पहिलो त समुदायलाई प्रहरी कार्यालयमा स्वागत गर्दै उहाँहरुसँग प्राज्ञिक बहस गर्ने र अर्कोचाहिं प्रहरीलाई अध्ययनशील बनाएर क्षमता, दक्षता अभिबृद्धि गरी अनुसन्धानमा निपूर्ण बनाउनका लागि सघाउनु नै यसको उद्देश्य हो’–उनले भने ।

प्रा.डा.कुसुमाकर न्यौपानेले आपराधिक क्रियाकलापमा लागेकाहरुलेपनि पुस्तकालयमा अरुले अध्ययन गरेको देखेर आफूलाईपनि सुधार गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पुस्तकालयले सघाउने विश्वास व्यक्त गरे । ‘यो सत्कर्म गर्नु भो, यसले आपराधिक क्रियाकलापमा लागेकाहरुलाईपनि नैतिकवान र चरित्रवान बनाउन प्रेरित गर्छ’–उनले भने ।

गण्डकी विश्वविद्यालयका डिन प्रा.डा.कपिल अधिकारीले प्रहरीलाई पुस्तकसँग जोड्नु राम्रो कुरा भएको बताए । संगठनको स्वास्थ्यसँग अध्ययनको भूमिका हुने भन्दै उनले भने,‘जुन संगठनका कर्मचारी अध्ययनशील हुन्छ त्यो संगठन स्वस्थ हुन्छ । अनि परिणाममुखी पनि बनाउँछ ।’

पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा.डा.सरोज कोईरालाले पुस्तकालयलाई कुनै एउटा विषय केन्द्रीत गर्न सुझाव दिए । त्यसो भएमा सो विषयमा अध्ययन अनुसन्धान गर्न देशभरका मान्छे खोज्दै आउने उनको भनाई थियो ।

एसएसपी कृष्णहरी शर्माले प्रहरीले कानून सबै जान्नुपर्ने भएको र त्यो अध्ययनपछि मात्र थाहा हुने भएकाले पुस्तकालयले त्यसमा सघाउने विश्वास व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आचार्यले प्रहरी कार्यालय आउँदा नागरिक झस्किने स्थितिको अन्त्य पुस्तकालयले गर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।