जोर्डनको वन्दरगाहमा विषाक्त ग्यास फैलियो


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित




जोर्डनको लालसागरको वन्दरगाहमा सोमवार विषाक्त ग्यास चुहावट हुँदा १० जनाको ज्यान जानुका साथै अन्य २५ जना घाइते भएका छन्।

जनसुरक्षा निर्देशनालय (पीएसडी)ले पारवहनका क्रममा रासायनिक पदार्थ भण्डार गरिएको कन्टेनर एउटा क्रेनको गल्तीका कारण अचानक खस्दा यो स्थिति उत्पन्न भएको संचारमाध्यमलाई बताएको छ।

भिडियो फुटेजमा क्रेनले एउटा लोरीबाट कन्टेनर उठाउने क्रममा त्यो वन्दरगाहमा रोकेर राखेको जहाजमा खसेको देखिन्छ। त्यसको लगत्तै जहाज र वन्दरगाह उज्यालो पहेँलो ग्यासको मुस्लोले छोपेको र अत्तालिएका मानिसहरूको भागाभाग भएको पनि देखिन्छ।

पीएसडीका अनुसार नागरिक रक्षा विभागले वन्दरगाहको सफाई तथा सुरक्षाका लागि विशेषज्ञहरूका टोलीहरू परिचालन गरेका छन्। कन्टेनरभित्र कस्तो प्रकारको विषाक्त रासायनिक पदार्थ रहेको थियो भन्ने थाहा हुन सकेको छैन।

सो विषाक्त ग्यासको संसर्गमा आएका झण्डै २ सय जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। स्थानीय प्रशासनले अकावाका वासिन्दालाई स्वास्थ्यकर्मीहरूलाई सहज ढंगले काम गर्न दिन अस्पतालसामु भिडभाड नगर्न आह्वान गरेको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।