पोखरा स्पोर्टस् अवार्ड : उदियमान खेलाडीको मनोनयनमा क्रिकेटकी अलराउण्डर श्रृष्टि


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित




पोखरा । ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ ।

अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदियमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा क्रिकेटकी श्रृष्टि जैशीसहित बक्सिङका शाहिल लिम्बु लिम्ब र टेनिसका दर्शिल श्रेष्ठ र परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् ।

क्रिकेटमा अलराउण्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । व्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडी मध्ये एक हुन् : महिला क्रिकेट खेलाडी श्रृष्टि जैसी । उमेरले १९ लागेकी श्रृष्टि यू–१९ नेपाली महिला क्रिकेटमा नाम चलेकी खेलाडी हुन् । कक्षा ७ मा पढ्दा होस्टेलमा बस्ने दाइहरुले खेलेको देखेर क्रिकेटमा होमिएकी उनलाई सोही समयमा प्रतिभा देखाउने राम्रो मौका आयो । राष्ट्रिय खेलाडी करण केसीले पोखरा नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाइएको थियो । उक्त प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यहरुले नियमित क्रिकेट अभ्यास गर्न सुझाए । त्यसका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा रहेका बाबा मितप्रसाद जैसी र आमा माया जैसीलाई उनीहरुले नै सम्झाइदिए ।

त्यसपछि उनको क्रिकेटको करियर सुरु भयो । नियमित प्रशिक्षणमा जान थालिन् उनको खेल निखारिदै गयो । ट्रेनिङकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पिएम कप खेल्न गइन् । त्यस लगत्तै उनी आठौं राष्ट्रिय प्रतियोगिता खेल्न दाङमा पुगिन् । ती प्रतियोगिताहरुमा उनी सहभागी मात्र भइन् । त्यो समयसम्म उनको खेलमा निखारता आईसकेको थियो । उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चिन गईन् । चिनमा उनको टिम तेस्रो स्थानमा पुग्यो । उनले आफ्नो जीवनमा अहिलेसम्म कै राम्रो एचिभ्मेण्ट त्यही प्रतियोगितालाई ठान्छिन् । त्यो समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिईन् । करण केसीको एकेडेमी बन्द भएपनि उनी रिजन प्रजुको एकेडेमीमा जोडिएकी थिईन् । १० मा पढ्ने समयमा उनी टियू ग्राउण्मा भएको वमन च्याम्पियन लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसकेपनि उनले यू–१९ प्रतियोगितामा वमन अफ दी म्याच हुन सफल भएकी थिईन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी श्रृष्टिको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुने रहेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्चले वर्ष उत्कृष्ट उदियमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

पोखरा सभागृह हलमा आयोजना हुने पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरीता गुरुङ, जापानबाट मोहन घले, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको अध्यक्ष दीननाथ बरालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।