पोखराको हेम्जामा आज रोपाई महोत्सव

- सन्दर्भ : राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन


     एभरेस्ट आवाज    
     असार १५ गते २०७९ मा प्रकाशित




तस्बीरः सौजन्य/कृष्णमणि बराल

आज असार १५ गते, अर्थात राष्ट्रिय धान दिवस। ‘मानो रोपेर मुरी उब्जाउने’ महिना असारको मध्य दिन आज धान दिवससँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ।

आजको दिन खेतमा धान रोपाईंसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दै धान दिवस मनाइन्छ। किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो।

कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन्। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो।

यस वर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ। सरकारी तथ्यांकअनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ।

पोखरामा रोपाई महोत्सव

असार १५ को दिनलाई रोपाई महोत्सवका रूपमा मनाउने गरिन्छ। यस दिन पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई महोत्सव गरिन्छ। यस वर्ष पोखराको हेम्जामा धान रोपाईको आयोजना गरिदैंछ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ पोखरामा १७ औं असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव २०७९ को तयारी गरिएको छ। पोखराका पर्यटन व्यवसायिहरुको छाता संगठन पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते रोपाई महोत्सव हुन लागेको हो।

पोखरा र यस वरपरका धान उत्पादन हुने विरुवा फाँट, कुँडहर फाँट, हेमजा फाँट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट, लेखनाथका विभिन्न फाँटहरुमा आजभोली धेरै जसो क्षेत्र कंक्रिट जंगलमा परिणत भएका छन। २०६१ सालदेखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखराका विभिन्न फाँटहरुमा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ।

परिषदले ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव असार १५ गते पोखरा–२५ माइस्थान हेमजामा आयोजना गर्न लागेको हो। स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्णबहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा रोपाई महोत्सवको तयारी गरिएको हो।

रोपाई महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड), आमा समुहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (नेपाली, पुरुष), पोखरा २५ का उत्कृष्ट कृषक तथा समाजसेवीलाई सम्मान कार्यक्रम छ।

दही चिउरा खाने दिन

खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । आजको दिन खेतमा धान रोपाईसँगै एकापसमा हिलो छ्यापाछ्याप गर्दै दही च्युरा खाने चलन छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउने गर्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।