फाइल तस्विर ।
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो । बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उक्त फार्ममा बाख्रा, टर्की र कुखुरापालन गरिएको छ ।
भाले कालिज बिक्री गर्ने गरिन्छ भने पोथी चल्ला उत्पादनका लागि पालन गरिएको नेपालले बताए । उनका अनुसार एउटा भाले कालिन रु दुई हजार देखि दुई हजार ५०० सम्ममा बिक्री गर्ने गरिन्छ । यसअघि सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा गतवर्ष बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीयवासी रातभरी आलोपालो कुरुवासमेत बसेका थिए ।
स्थानीयवासी दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराएका थिए । अघिल्लो वर्ष पनि नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयवासीलाई सामूहिक रूपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो ।घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको पाइएको छ ।
जसका कारण जङ्गल नजिक बस्तीका किसानका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ । पाँचखाल नपा–१३ कोसीदेखिका बासिन्दा तीन वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित छन् ।उनीहरू जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोख्छन् ।
बनेपा नपा–३ काँक्रेका किसान गोकुल बजगाइँ वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले मानिसका लागि थप चुनौती बन्दै गएको बताउछन । उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् ।सोही गाउँका रामेश्वर बजगाइँको पीडा पनि उस्तै सुनाउछन । घोरासैनीका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उगेलेरै फाल्ने गर्दछन् ।
गतवर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा पनि समूह समूहमा आएको बाँदरले स्थानीयवासीलाई निकै दुःख दिएका थिए । काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पु¥याएपछि समाधानका लागि छलफल पनि चलाउने गरिन्थ्यो ।
जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश किसानले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।डिभिजन वन कार्यालय धुलिखेलका वनअधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउछन ।
पोखरेलका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नबनाए पनि क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ । उनका अनुसार वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिक रूपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । डिभिजन वन कार्यालयका अनुसार बितेको १३ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जनको सङ्ख्यामा घाइते भएका छन् ।
कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिँदै आइएको छ । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिको रु १६ लाख बराबरको राहत दिएको थियो । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







