योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया


     एभरेस्ट आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित





भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । जग्गा खरिद गर्न केन्द्र सरकारबाट विनियोजन भएको रु सात करोड आइपुगेको उनले बताए ।


विश्वविद्यालयले निर्माणका लागि षडानन्द नगरपालिकामा २३३ रोपनी र खादबारी नगरपालिका ३७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णयबमोजिम खोजी प्रक्रिया थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिए । योगमाया भोजपुरमा जन्मिएको भए पनि मन्त्रिपरिषद्को निर्णयमा भोजपुरमा भन्दा सङ्खुवासभामा बढी जग्गा खरिद गर्ने निर्णयले यस नगरपालिका असन्तुष्ट रहेको उनको भनाइ थियो ।योगमायाको जन्म भोजपुरमै भएको हो, तर जग्गा भने सङ्खुवासभामा बढी खरिद गर्ने भन्ने उल्लेख छ । हाम्रा तर्फबाट दुवै क्षेत्रमा जग्गा बराबरी हुनुपर्छ भन्ने मेरो माग छ ।

त्यस्तै बन्ने संरचना पनि भोजपुर क्षेत्रलाई प्राथमिकतामा राखेर बनाउनुपर्नेमा उनले जोड दिए ।जग्गा खरिद गर्न रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको छ भन्दै नगरप्रमुख उदासले हाम्रो क्षेत्रको जग्गा खरिदका लागि आएको रकम पनि सङ्खुवासभा जिल्ला प्रशासनमा छ । खासमा नगरपालिकाका यसअघिका जनप्रतिनिधिले समयमा मागपत्र पेश गर्न नसक्दा यस्तो भएको हो ।

त्यो बेला अलिकति प्राथमिकताका साथ काम गरिदिएको भए हाम्रो जिल्ला प्रशासन कार्यालयबाट नै खरिद रकम भुक्तानी गर्न सकिन्थ्यो । त्यो नहुँदा हाम्रो क्षेत्रको जग्गा खरिदको रकम पनि सङ्खुवासभाले भुक्तानी गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । योगमायाको समाधिस्थल मजुवबेँसीमा समेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको र भोजपुरतर्फको जग्गा विश्वविद्यालयको नाममा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर निर्णय गरी कामको थालनी गरिएको नगरप्रमुख उदासले जानकारी दिए ।

सङ्खुवासभामा विश्वविद्यालयको नाममा जग्गा पास थालिएको त्यहाँ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । हालसम्म २२ रोपनी जग्गा पास भइसकेको र यो पक्रिया चाँडै नै सम्पन्न गराउने लक्ष्य रहेको उनले बताए । पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रति रोपनी रु एक लाखका दरले जग्गा खरिद गरिएको प्रजिअ खतिवडाको भनाइ थियो । भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी रु ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको थियो ।भोजपुरतर्फको २३३ रोपनी र सङ्खुवासभाको ३७२ गरी ६०५ रोपनी जग्गा खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ थियो ।

दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात् विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदनडीपीआर तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । डीपीआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने भएको छ ।दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नु पर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन ।

विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया सुरु हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ ।सतिप्रथाको अन्त्यका लागि सङ्घर्ष गर्नुहुने क्रान्ति योद्धा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा भएको थियो । देशमा जगडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालिन राणा सरकारसँंग मागगर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ८६ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए ।

उनीहरूले समाधि दिएको ठाउँ षडानन्द नगरपालिका–६ को मजुबेँसीमा पर्दछ । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाको रूपमा योगमायालाई चिनिन्छ । काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी उहाँले धर्म भिक्षा मागेका थिए । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उनीमा थप क्रान्तिको विजारोपन भएको थियो ।

तत्कालीन श्री ३ ले झुक्याउने काम गरेकाले चुनौती दिँदै उनले आफ्ना २४० भक्तहरूका साथ अरुण नदीछेउ अग्निदाह गर्ने घोषणासमेत गर्नुभकामा त्यो कुरा तत्कालीन सरकारले थाहा पाएर योगमायासहित उनका अनुयायीलाई नियन्त्रणमा लिइएको थियो । त्यहाँबाट छुटेपछि योगमायासहित उनका ६८ जना अनुयायीले सामूहिकरूपमा अरुण नदीमा हामफालेर सतिप्रथासहित कुरीतिको विरोधमा देहत्याग गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।