पोखरा स्पोर्टस् अवार्ड वितरण भोलि, तयारी पुरा


     एभरेस्ट आवाज    
     असार १७ गते २०७९ मा प्रकाशित





पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भोलि शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ । विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैटौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना लागेको हो । पोखरा सभागृहमा अपराह्न ३ बजेबाट हुने अवार्ड समारोहमा विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष, वर्ष सर्वोत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गर्नेछ । मञ्चले चार वटा विधामा नोमिनेसन सार्वजनिक गरिसकेको छ । जस अनुसार सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ उत्कृष्ट ३ मा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) परेका छन् ।

त्यस्तै, सर्वोत्कृष्ट वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिवल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् ।यसैगरी, वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उत्कृष्ट ३ मा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजु (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा (टेनिस) उत्कृष्ट ३ को मनोनयन सूचिमा परेका छन् ।

उत्कृष्ट ३ मध्ये एक जनालाई उत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए । गत वर्षभरीको खेलहरुमा खेलाडीले जनाएको सहभागिता, पाएको उपलब्धी र देखाएको पर्फमेन्सका आधारमा जुरी कमिटीले गरेको आधारमा अवार्ड प्रदान गरिने उनले बताए ।यसैबीच, मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने जनाएको छ ।

बाँकी दुई विधा उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने अवार्ड समारोहमा एकैपटक घोषणा गरेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुष र महिलालाई टेल–जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई अवार्डसहित नगद पैंतीस÷पैंतीस हजार रुपैयाँ प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।

यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट अवार्डेड हुने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई पनि मनोनयन अवार्ड र प्रमाणपत्र प्रदान गरिने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

अवार्ड वितरण समारोहमा गायक विनोद वानिया, हाँस्य कलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बि–व्वाइजको बिबोइङ, गजल वाचन र खेल डेमोस्ट्रेसनलगायतका प्रस्तुती रहने महासचिव पौडेलले जानकारी दिए । अवार्ड वितरण कार्यक्रमको तयारी पूरा भएको उनले बताए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम.ए .कन्स्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भरटाइजिङलगायत सहयोगीको रुपमा रहेको मञ्चले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।