नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन


     एभरेस्ट आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित




काठमाडौ । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो ।

नगरसमितिको अध्यक्षमा अच्युत ओझा, उपाध्यक्षमा मनोजकुमार तिमल्सिना र कोपिला देवकोटा, सचिवमा जगदीश्वर न्यौपाने, कोषाध्यक्षमा कविन्द्र रिमाल, सहसचिवमा केदार गजुरेल चयन भएका छन् । यस्तै सदस्यसहित १५ जनाको कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले श्रमिकको हक, हित र अधिकारका लागि स्व गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

काठमाडौँ जिल्लाका अध्यक्ष देवीप्रसाद भुसालले आगामी दिनमा काठमाडौँ महानगरसहित बाँकी १० वटै स्थानीय तहमा कार्यसमिति गठन गर्ने जानकारी दिए।

नेपाल ट्रेड युनियन कांग्रेसको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनले सबै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको शाखा विस्तार गर्ने निर्णय गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।