कपन बानेश्वर सम्मान सात जनालाई


     एभरेस्ट आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित





काठमाडौँ । ‘कपन बानेश्वर’ साहित्यिक साप्ताहिकले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । सोअनुसार पत्रिकाको दशौँ वर्षका अङ्कमा प्रकाशित रचनामध्येबाट शीतल गिरीलाई ‘नालाङ्ग कबा रचना पुरस्कार’, तारा केसीलाई ‘श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’, इन्द्रकुमार श्रेष्ठ ओखलढुङ्गालाई ‘गङ्गा लिगल कबा रचना पुरस्कार’ मोफसल र तृष्णा श्रेष्ठलाई ‘हेमगङ्गा कबा रचना पुरस्कार’ बाल प्रदान गरिने पत्रिकाका सल्लाहकार शङ्कर भारतीले जानकारी दिए ।

गत वर्षसम्म ‘कबा समाचार पुरस्कार’ प्रदान गरिँदै आएकामा यस वर्षदेखि ‘कबा साहित्यिक पत्रकारिता पुरस्कार’ नामकरण गरी साहित्यिक पत्रकार उमेश पाण्डेलाई प्रदान गरिने साप्ताहिकले जनाएको छ । पत्रिकाका सम्पादक निबन्ध आचार्यका अनुसार साप्ताहिकले वरिष्ठ साहित्यकार महेन्द्र चालिसेलाई ‘कबा विशिष्ट सम्मान’ र विष्णु ओलीलाई ‘कबा सम्मान’ प्रदान गर्ने छ । साप्ताहिकका प्रबन्धक गङ्गा पौडेलका संयोजकत्वमा गठित प्रतिभा चयन समितिले गरेको सिफारिसका आधारमा ती प्रतिभा चयन गरिएकोे जनाइएको छ ।

सो सम्मान तथा पुरस्कार आगामी साउन ७ गते पत्रिकाको दशौँ वार्षिकोत्सवमा प्रदान गरिने पत्रिकाका सहसम्पादक परशुराम अधिकारीले बताए । पत्रिकाले हरेक वर्ष वार्षिकोत्सवमा सम्मान र पुरस्कार प्रदान गर्दै आएको जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।