फाइल फोटो
गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ।
प्रदेशसभाको मंगलबारको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन्।
बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए।
जनताका आवश्यकतातर्फ बजेट केन्द्रीत नभएको उनले बताए। यस बजेटबाट जनताका ईच्छा र चाहना पूरा नहुने उनले बताए।
बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जबाफदेहिता नदेखिएको उनले बताए।
मनकुमारी गुरुङले आफ्नो साधन स्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन्। सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन्। कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरिन्।
लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए। करको दायरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए। धनमाया पोखरेल लामाले संघीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिइन्। उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याइन्।
सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताइन्। योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताइन्। यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ।
भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए। सत्तापक्ष आफैँभित्र लुछाचुँडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको आरोप लगाए।
मंगलबारको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिनुभएको थियो ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







