श्रीलंका संकटः समस्याग्रस्त अर्थतन्त्रमा खतराको घण्टी !


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंका बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ।

श्रीलंकको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भएपनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ।

केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ। इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलंकाको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ।

गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ। विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न संघर्षरत छन् भने गरिब देशहरू ऋण संकटबाट मुक्त हुन सक्ने अवस्था छैन।

अति कमजोर अर्थतन्त्र भएका देशहरू महामारीभन्दा अघिदेखि महारोगका रुपमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ। अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ।

रासस/एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।