काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताएका छन । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरेका हुन । अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध छन् ।
हालसम्म कोषमा तीन लाख ४४ हजार २४८ योगदानकर्ता र १७ हजार १५६ रोजगारदाता कोषमा आबद्ध भइसकेका छन् । कोषले आगामी आवदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने गरी कार्यविधि निर्माण गरिरहेको छ । कार्यविधि अन्तिम चरणमा रहेको कोषले जनाएको छ ।
मन्त्री कुँवरले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताए । कोषले हाल योगदानकर्तालाई चार प्रकारका सुविधा दिँदै आएको छ । योगदानकर्ताले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा, दुर्घटना तथा अशक्तता सुविधा, आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त गर्दै आएका छन् । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउन कोषले सहुलियत कर्जा प्रवाह गर्ने बताए ।
कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने जनाएको छ । कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकको जीवनमा आइपर्ने जोखिम कम गर्न कोषले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







