राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा १५ कविता छनोट


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित





काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन् ।

आचार्यको जन्मजयन्तीका अवसरमा यही असार २८ गते खुला कविता प्रतियोगिता हुन गइरहेको छ । कविले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । प्रतियोगितामा कविता वाचनका लागि पर्वत, मोरङ, कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलवस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देहीका कवि सहभागी हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदासमेत दिएको छ । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा पनि उत्तिकै प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि नेपाली साहित्यमा चिनिएका हुन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।