पोखरा । जनस्तरमा विरोध भएपछि मातापिताको नाममा विनियोजित बजेट नलिने घोषणा हुन थालेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा नेताहरुको दिवंगत मातापिताको नाममा करोडौं बजेट विनियोजन भएको सञ्चारमाध्यममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जनस्तरबाट विरोध भएपछि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र कांग्रेस नेता अर्जुनप्रसाद जोशीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो मातापिताको नाममा विनियोजित बजेट नलिने घोषणा गरेका हुन् ।
मन्त्री श्रेष्ठले आईतबार विहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मातापिताको नाममा बजेट विनियोजित गरेर गल्ती भएको स्विकार्दै त्यसप्रति माफी मागेका छन् । मलाई सच्चिने मौका दिनुहोला भन्दै उनले भनेका छन्,‘मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’ उनले जेष्ठ नागरिकको सम्मान र महिला सशक्तिकरण गर्दै असहायःहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहायः र गरीव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मातापिताको नामको ट्रष्टका लागि बजेटको व्यवस्था गर्न अनुरोध गरेको उनले स्वीकारेका छन् । र अगाडि भनेका छन्,‘यीनै विषयलाई सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । आज समाजिक संजालमा एकाएक आएका टिप्पणीले गम्भीर बनेको छु । यो शिर्षकको बजेट आगामी वर्षको बजेटवाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्री ज्यूलाई अनुरोध गर्दछु ।’ उनले फिर्ता भएको बजेट असहायः, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस् भन्ने चाहना व्यक्त गरेका छन् ।
मन्त्री श्रेष्ठको माता स्व.धनकुमारी श्रेष्ठ र पीता पुननारायण श्रेष्ठको नाममा खोलिएको ट्रष्टको लागि र भवन निर्माणको लागि भनेर फरक÷फरक दुई वटा शिर्षकमा ५०/५० लाख विनियोजन गरिएको थियो । उनले अर्थमन्त्री रामजीप्रसाद बराललाई धम्क्याएर बजेट विनियोजन गर्न बाध्य पारेको सार्वजनिक भएको थियो ।
तर नागरिक समाज पोखराले भने बजेट नलिने भनेर मात्र धर नपाईने जनाएको छ । अर्थमन्त्रीलाई धम्क्याएर बजेट हाल्न बाध्य पार्ने मन्त्री श्रेष्ठले गम्भीर गल्ती गरेकाले जनतासँग माफी मागेर पदबाट राजिनामासमेत दिनुपर्ने समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ आफू मातहतको ट्रष्टमा रकम विनियोजन नगरेको भन्दै अर्थमन्त्रीलाई धम्की दिने सामाजिक विकासमन्त्री यिनै होइनन् ? चौतर्फी विरोध आएपछि रकम चाहिंदैन भनेर मात्रै पुग्दैन । गम्भीर गल्ती गरेबापत जनतासँग माफी मागेर तुरुन्तै राजिनामा देउ ।’
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीलेपनि आफ्नो पिताको नाममा निर्माण गरिन लागेको स्मृति पार्क निर्माणका लागि विनियोजित बजेट अन्यत्र लैजान आग्रह गरेका छन् । उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई फोन गरेर सो बजेट जहाँ मनलाग्छ त्यहिं लैजान आग्रह गरेको एभरेस्ट आवाजलाई बताए । जोशीका पिता स्व.अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मन्त्री श्रेष्ठ र नेता जोशीले बजेट फिर्ता गर्ने घोषणा गरिरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भने बजेट लिने पक्षमा उभिएका छन् । विरोध आएपनि उनी बजेट लिने मनसायमा रहेको उनको सचिवालयले जनाएको छ । ‘मुख्यमन्त्रीको पिता राजनीतिक र सामाजिक व्यक्तित्व हो, त्यस्ता व्यक्तिको नाममा ट्रष्ट स्थापना गरेर सामाजिक काम गर्ने पहिलेदेखिकै चलन हो । त्यसैले मुख्यमन्त्रीज्यू बजेट लिने पक्षमै हुनुहुन्छ’–सचिवालय श्रोतले भन्यो ।
मुख्यमन्त्री पोखरलले आफ्ना स्व. पीता गोवद्र्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गराएका छन् भने उनकै पिताको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्नका लागि भनेर थप १० लाख रूपैयाँ विनियोजन गराएका छन् । उनले चालु आर्थिक वर्षमा पनि मुख्यमन्त्री पोखरेलले पिताको नाममा रहेको सो फाउण्डेसनलाई प्रदान गरिएको एक रोपनी जग्गा पास गर्न लाग्ने रजिस्ट्रेसन शुल्कमा पचास प्रतिशत छुट गराएका थिए ।
त्यस्तै, पर्वतका अर्का कांग्रेस नेता स्व. डिल्लीराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका…





