दुर्घटना न्यूनीकरणलाई चालिएको अभियान प्रभावकारी


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




चितवन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ ।

तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको “जस आउँछ” अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन सहयोग गरेको सो कार्यालयको भनाइ छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार जग्गा प्राप्ति तथा भौतिक निर्माण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक शुद्धिकरण, उन्नत् व्यवहार र छलफल गरी प्रहरीलाई व्यावसायिक बनाउन यो अभियान सञ्चालनमा ल्याइएको हो ।

बागमती प्रदेशमा रहेका काठमाडौँ, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा यो अभियान सञ्चालनमा ल्याइएको छ । अभियानका क्रममा कार्यालयले रामनगरमा सतनचुली सामुदायिक वनको १० कठ्ठा जग्गा प्राप्ति गरेको छ ।

यस्तै सिन्धुलीको दूधौली र काभ्रेमा कार्यालय स्थापनाका लागि जग्गा प्राप्ति भएको उनले जानकारी दिए । नेपाल सरकार मन्त्रिपरिषद्को यही असार २१ गतेको निर्णयले रामनगरमा जग्गा उपलव्ध गराएको हो । सरकारको निर्णयसँगै कार्यालयले अस्थायी संरचना निर्माणको काम सुरु गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि हरेक जिल्लामा छड्ेक तथा नियमित जाँच, कारबाही, चालक र यात्रुसँग ५÷५ मिनेट, चालक र सहचालकको स्वास्थ्य परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गर्दै आएको छ । विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन, सरोकारवाला निकायसँग मिली ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतनामुलक होर्डिङबोड, सिसिटिभी जडान जस्ता कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।

अभियानका क्रममा हालसम्म एक हजार ९७० जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएकोमा ६२२ जनाको आँखामा समस्या देखिएको थियो । जसमध्ये ४५७ जनामा उच्च रक्तचाप तथा मधुमेहको समस्या देखिएको छ ।

यस्तै सवारी साधनको यान्त्रिक परीक्षणका क्रममा अवस्था ठिक नभएका एक हजार ८२३ वटा सवारी साधनलाई कारबाही गरिएको छ । गत फागुनबाट सुरु गरिएको अभियानका क्रममा दुर्घटना न्यूनीकरणका लागि तीन हजार २२४ पटक सचेतना कार्यक्रम गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।