‘नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक, २०७९’ पारित


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित




काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक, २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ।

प्रतिनिधिसभा सोमबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसअघि, सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संघीयता कार्यान्वयनका लागि सहकार्य र सहअस्तित्वलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी शान्ति, सुरक्षा र सुशासनका लागि भूमिका निर्वाह गर्ने संगठन भएको बताए।

विधेयकमा प्रदेश प्रहरीलाई कमजोर पार्न नखोजिएको स्पष्ट पार्दै उनले आन्तरिक र बाह्य कारणले सुरक्षा चुनौती आउनसक्नेतर्फ सरकार सचेत रहेको पनि बताए। नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा हुनसक्ने सुरक्षा चुनौती लाई मध्यनजर गर्दै नेपाल प्रहरीलाई नै जिम्मेवारी दिइएको उनले बताए।

यस्तै, उनले कठिनाइका बाबजुद पनि नेपाल प्रहरीले निभाइरहेको भुमिकाको प्रशंसा गरे। नेपाल प्रहरी १६ र १८ वर्षमा पेन्सनमा जान सक्ने कुरा सकारात्मक रहेको र त्यसका लागि आवश्यक अध्ययन भइरहेको पनि उल्लेख गरे।

प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्। यसैबीच कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद कोइरालाले यौनजन्य हिंसाको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।