कास्कीको अन्नपूर्ण-पानीखाल्टा (टोल्का)को जंगलमा २ जनाको शव फेला


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ पानीखाल्टा टोल्काको जंगलमा रुखमा झुडिएको अवस्थामा २ जनाको शव फेला परेको छ।

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१ वर्ष ३२ का दिवाकर थापा र सोही स्थानका वर्ष २८ का सुदिना कर्माचार्यको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा छाडेको नागरिकता र पासपोर्टका आधारमा उनीहरुको परिचय खुलेको हो।

उनीहरु युगल जोडी रहेको र पोखरा घुम्न आउँदा उक्त स्थानमा गएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको पहिलो अनुसन्धानमा खुलेको छ।

आइतबार बेलुकी ६ बजेतिर जंगली स्याउ टिप्न गएका स्थानीयले जंगलमा २ जना झुण्डिएको अवस्थामा शब फेला परेको खबर नौडाँडा प्रहरी चौकीलाई दिएका थिए।

प्रहरीले खबर पाएपछि पोखरा–बगर प्रहरी कार्यालयका ईञ्चार्ज ईन्स्पेक्टर महेशकुमार आचार्यको टोली त्यसतर्फ गएको थियो।
करिब १५ दिनअघिको पुरानो शब फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडेको अवस्थामा शब फेला परेको हो।

सोमबार बेलुकी मात्रै शब पोखरा ल्याइएको थियो। वर्षायामका कारण यातायातको सुविधा नभएकोले बोकेरै शब पोखरा ल्याइएको प्रहरीले जनाएको छ।

पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा शव पोष्टमार्टम गरिएको र हाल परिवारलाई शव बुझाइसकेको प्रहरीले जनाएको छ।

उनीहरु भारत जान भनि हिँडेको प्रहरीलाई परिवार श्रोतले बताएको छ। भारत नगई पोखरा र अन्नपूर्ण क्षेत्रका होटलमा बसेको खुल्न आएको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।