कैलाली । कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ ।
‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन । राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीलाई खेलकुदका लागि मात्रै होइन, पठनपाठनमा समेत निकै समस्या हुन थालेको छ । सडकको नक्सा भएको क्षेत्र कुनै व्यक्तिको कब्जामा रहेको र नक्साअनुसार सडक निर्माण गर्दा आफ्नो राजनीति बिग्रने डरले स्थानीय जनप्रतिनिधिले त्यो जोखिम लिन नचाहेको बताइएको छ ।
विद्यालयको आँगनबाटै सडक निर्माण भएपछि सवारीसाधनको आवाजले पठनपाठनमा समस्या हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम बढेको छ । विद्यालयसँग करोडौँका संरचना निर्माण भएका छन् तर, घेरापर्खाल छैन । विद्यालयका कागजात तथा अन्य सामग्री पनि निकै असुरक्षित छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयसँग १५ कठ्ठा जग्गा थियो । त्यसबाट केही जग्गा सडकमा विलय भइसकेको छ भने १५ कठ्ठा जग्गामा सबै ऐलानी छ ।
“हामीसँग ५३२ विद्यार्थी छन् । तिनलाई बिहानको समयमा प्रार्थना गराउन, खेलकुद सिकाउनका लागि मैदान नै छैन । भन्न नमूना विद्यालय भनिएको छ तर काम नमूना गर्न सकिएको छैन”, विद्यालयका प्रधानाध्यापक पदमबहादुर शाहीले भन्नुभयो, “आज सडकको समस्याका कारण प्रदेशबाट विनियोजन भएको रकम फिर्ता गयो । विद्यालय नमूना छ, संरचना र विद्यार्थी निकै असुरक्षित छन् ।”
उहाँका अनुसार अझै पनि विद्यालयको नाममा जग्गा छैन । ऐलानी जग्गा भएकै कारण पनि स्थानीयवासीले विद्यालयको जग्गा अतिक्रमण गर्दै यहाँ पुगेको प्रअ शाही बताउछन् । अहिलेसम्म विद्यालयमा पाँच व्यवस्थापन समितिका अध्यक्ष फेरिए भने तीन प्रधानाध्यापक ।
भजनी नगरपालिकाका मेयर केवल चौधरीले १० वर्ष सोही विद्यालयको प्रधानाध्यापक भएर सेवा गर्नुभएको थियो । आफ्नो कार्यकालमा उहाँले पनि अतिक्रमणमा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन सक्नुभएन ।
“वर्तमान नगरप्रमुखले पहिले निकै प्रयास गर्नुभएको थियो । उहाँको कुरालाई सुनिदिने कोही भएन ।” प्रधानाध्यापक शाहीले भने, “निवर्तमान नगरप्रमुखले पनि सडकको समस्या समाधान गर्ने बोल्नुभयो, गर्नु भएन । सबैले बोले काम कसैले गरेनन् । समस्या विद्यालय प्रशासन र विद्यार्थीलाई भएको छ ।”
नगरप्रमुख चौधरीले विद्यालयका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







