फाइल तस्विर
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क बीच भेटवार्ता भएको छ ।
सोमबार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टेलिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे । गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अस्टे«लियाको सहयोग आफूहरूका लागि अपेक्षित रहेको उनको भनाइ थियो ।
नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिकसम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए । दुबै देशको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा आपसी सम्बन्ध जनस्तरसम्म फैलिएको उनले उल्लेख गरे ।
अस्टे«लियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको उनले स्मरण गरे । अस्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सो कार्यको प्रशंसा गरे ।
नेपालले कपडा, कार्पेट, पेन्टिङ आदि अस्ट्रेलिया निर्यात गर्दै आएको छ भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्ने गर्दछ । अस्ट्रेलिया नेपालीका लागि प्यारो घरजस्तो भएको उल्लेख गर्दै मुख्यमन्त्रीले ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएको उल्लेख गरे ।
नेपाली विद्यार्थी र अस्टेलियामा बसोबास गर्ने नेपालीप्रति अस्टेलियामा देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार व्यक्त गरे । प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अस्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागिसमेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गरे ।
राजदूत भोल्कले अस्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेत्रमा काम गर्दै आएको बताउँदै अहिले पनि सङ्घीयता सुदृढीकरणमा आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराए । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गरे ।
कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रह अनुसार अस्ट्रेलियाले सहयोग गरेको उनले स्मरण गरे । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उनको भनाइ छ । जीविकोपार्जन, आयआर्जन, अपाङ्गता भएकाको लागि सवलीकरण कार्यक्रममा आफूहरूले सहयोग गर्दै आएको उनले बताए ।
गण्डकी विश्वविद्यालयसँग अस्ट्रेलियाका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । अक्त अवसरमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा संसदीय मामिलामन्त्री विन्दुकुमार थापाले सङ्घीयता कार्यान्वयमा देखिएका चुनौतीका बारेमा अनुभव सुनाए। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा विविएस प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि…





