क्रसर उद्योग स्थापना गरेर नदी दोहन


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित




म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–युनाइटेडद्वारा सञ्चालित अस्थायी क्रसर उद्योग । तस्वीर ; सन्तोष गौतम ; रासस


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन् । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए ।सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो । केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् ।

सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ । विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताए । कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।