आज २०९ औं भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक विदा


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित




आज असार २९ गते अर्थात २०९ औं भानु जयन्ती।

विविध साहित्यिक कार्यक्रम गरेर देश तथा विदेशमा आजका दिन आदिकवि भानुभक्त जन्म जयन्ती मनाइन्छ।

वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ असोज ६ गते निधन भएको थियो। भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको चुँदी रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्।

मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर १९१०, भक्तमाला १९१०, वधूशिक्षा १९१९, लगायतका कृतिहरू लेखेका छन्। उनका पाण्डुलिपिहरूलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन्।

बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका भानुले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने ईच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए। उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामै नाच्थे भनाई छ।

गण्डकी प्रदेशमा आज (बुधबार) सार्वजनिक विदा छ। प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन आज सार्वजनिक बिदा दिएको हो। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गरेको थियो।

आज तनहुँको चुँदी रम्घास्थित भानु जन्मस्थल सिखर कटेरीमा पञ्जे बाजागाजासहित विशेष कार्यक्रम गरिन्छ। त्यस्तै, चुँदी रम्घा बेंसीमा आदिकवि भानुभक्तको सम्झनामा साहित्यिक कार्यक्रम गरिन्छ।

त्यस्तै, आजको दिन पोखरामा पनि आदिकवि भानुभक्त जयन्ती मनाइन्छ। पोखराको मानवअधिकार चोकदेखि फूलबारीस्थित भानु प्रतिमाचोकसम्म साहित्यिक ¥याली निकालिदै आएको छ।

यस वर्ष पनि आज सो कार्यक्रम गरिदैँ छ। भानु वाङमय प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सहभागिता रहने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।