दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माणको काम शिलान्यास भएको छ वर्ष बित्दा पनि सुरु हुनसकेको छैन । तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माणका लागि छ वर्षअघि शिलान्यास भए पनि काम अघि बढ्न नसकेको हो । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को शिलान्यास गरेको थियो । रु ६८ लाखको लागतमा निर्माण हुने भनिएको भानुगृहको त्यसपछि कुनै काम सुरु भएको छैन । भानु गृहनिर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएको सरोकारवाला बताउँछन् ।
पश्चिमाञ्चल विकास मञ्चका संस्थापक अध्यक्ष रामकाजी कोने पूर्वाधार निर्माण, स्वामित्व ग्रहण र सुरक्षा अभावका कारण भानु घरको काम सुरु गर्न नसकिएको बताउछन । भानु गृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको उनको भनाइ छ । भानु गृह निर्माणका लागि पूर्वाधारको तयारी नगरिएकामा उनको गुनासो छ । बाह्रैमास चल्ने सडक, खानेपानीको अभाव, सुरक्षाको प्रबन्ध नभएका कारण पनि काम सुरु गर्न नसकेको बताइएको छ ।
भानु गृह निर्माण गरेर आफूहरुले मात्र त्यसको संरक्षण गर्न नसक्ने कोनेको भनाइ छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा करीब रु एक लाख २७ हजारको क्षति भएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माण नहुनु दुःखद रहेको बताउछन ।
भानु जन्मस्थललाई भानुधामको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनले बताए । सङ्घ सरकारसँग सहकार्य गरी नगरपालिकाले नै भानुको घर पुनःनिर्माण गर्ने योजना रहेको त्रिपाठीले बताउनुभयो । यता आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भने अब आफैले भानु गृह निर्माण गर्ने बताएको छ ।
भानु गृह जीर्ण बन्दै गएको र पश्चिमाञ्चल विकास मञ्चले पनि काम सुरु नगरेपछि समितिले नै भानुगृह पुनःनिर्माण गर्ने बताएको छ । विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले आगामी वर्ष विकास समितिको पहलमा नै भानु गृहको पुनःनिर्माण गर्ने सोच बनाइएको जानकारी दिए। भानु गृह पुनःनिर्माणका विषयमा पटक–पटक सम्पर्क गर्दा अनेक बहाना बनाइएको रानाभाटले बताए ।
भानुको सम्मान हुन नसकेकामा चिन्ता
विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । भानुभक्तको योगदानको कदर गर्दै चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीयवासी निराश छन् ।
भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । सरकारले भानु जन्मस्थलको विकासका लागि २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेपनि सरकार परिवर्तनसँगै समितिको नेतृत्व पनि परिवर्तन हुँदा ठोस् काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी रिदम आचार्यले नजिकको तीर्थ हेला भने झै भानुभक्तको जन्मथलो उपेक्षामा परेको गुनासो गरे ।
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेख्नीय योगदान पु¥याएपनि राज्यले भानुको सम्मान गर्न नसकेको उनको भनाइ छ । भानुभक्त आचार्यको पाँचौँपुस्ताका खलाती केदारभक्त आचार्यले भानुभक्तलाई दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको बताए ।
विश्वकै अग्लो शालिक बनाइने
आचार्यको जन्मस्थल चुँदीरम्घामा विश्वकै अग्लो भानुभक्तको शालिक निर्माण गरिने भएको छ । इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले भानुभक्तको अग्लो शालिक निर्माण गर्न लागेको हो । त्यसका लागि फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा गत मङ्सिरमा भानुमा निरीक्षण गरिएको थियो । अधिकारीले मूर्ति निर्माणपछि यस ठाउँमा विश्वभरका नेपाली भाषाको आगमन बढ्ने आशा गरिएको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





