नागरिकता विधेयक अघि बढ्यो


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित




फाइल तस्बीर


काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ पेस गरेका हुन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दर्ता गराएका विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री खाणले नागरिकता ऐन संशोधन विधेयक पेस गरेका हुन ।

विधेयकको विरोध गर्नुपर्ने कारणबारे बोल्दै सांसद रावलले राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ विधेयक ल्याइनु समितिकै अवहेलना भएको दाबी गरे । अर्का सांसद तामाङले लैङ्गिक पहिचानसहित आमा वा बाबुका नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत विधेयक आएको भन्दै असहमति जनाए ।

उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधमाथि सङ्क्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले संविधानको प्रावधानबमोजिम नागरिकताविहीन नागरिकलाई नागरिकता सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको बताए ।उनले पछिल्लो पटक नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि प्रतिवेदनसहित आएको र उक्त विधेकलाई अघि बढाउने तथा कानुन बनाएर सहमतिबाट पारित गर्ने वातावरण बनाउन प्रयत्न गरिए पनि त्यो नभएपछि विधेयक फिर्ता भएको स्पष्ट पारे ।

गृहमन्त्री खाणले नेपाली नागरिकता नपाएर नै असहज जीवन जिउन बाध्य भएका नागरिकलाई संविधानको प्रावधानबमोजिम नागरिकता प्रदान गर्न सरकारले विधेयक अघि बढाएको जानकारी दिए ।
मन्त्री खाणले विधेयकलाई अगाडि बढाइसकेपछि दफाबार छलफल हुने भएकाले यसलाई परिस्कृत विधेयकका रुपमा अघि बढाइने विश्वास व्यक्त गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।