बलेवा । चालु आर्थिक वर्षको अन्तिम महिनाबाट बागलुङका अधिकांश स्थानीय तहले प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास थालेका छन् । यहाँका स्थानीय तहले असार महिनादेखि स्थानीय तहबाट सम्पादन हुने कामको भुक्तानीका लागि ‘ई–पेमेन्ट सेवा’ सञ्चालनमा ल्याएका हुन् ।स्थानीय तहको लेखा प्रणालीलाई पारदर्शी र जफावदेही बनाउन ई–पेमेन्ट सेवा सञ्चालनमा ल्याइएको हो । जिल्लाको ताराखोला, बरेङ, बडिगाड, काठेखोला गाउँपालिका, गलकोट, जैमिनी र बागलुङ नगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रुपमा ‘ई–पेमेन्ट सेवा’ सुरुआत गरेका हुन् । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
असार मसान्तको समयमा कार्यपालिकाको कार्यालयमा देखिने भीड ‘ई–पेमेन्ट सेवा’ले ह्वात्तै घटाएको छ ।‘ई–पेमेन्ट सेवा’मार्फत सिधैँ सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए । काम सकेर भुक्तानी लिनको लागि कार्यालय पुगेपछि कार्यालय प्रमुख र लेखा शाखाको प्रमुख अनिवार्य कार्यालयमा हुनुपर्ने समस्याको पनि यो विधिले समाधान गर्नेछ । भुक्तानीको विवरण तयार भएपछि एक पटकका लागि प्रयोग हुने सङ्केत नम्बर प्रमुख प्रशासकीय अधिकृतको मोबाइल नम्बरमा जाने र सोही नम्बर प्रविष्ट गरेपछि लेखा अधिकृतले सिधैँ बैंक खातामा भुक्तानी दिन सक्ने व्यवस्था छ ।
सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । आर्थिक कारोबारको ‘डे क्लोजिङ’ हुने भएकाले हिसाब गर्न आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने बताउँछन् ।
कार्यालयमा चेक लिन दिनुपर्ने समय, बैंकमा लाइन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झट उपभोक्तालाई कमी भएको उपभोक्ता बताउँछन् । स्थानीय तहको बजेट तर्जुमा लेखाङ्कन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत यो सेवा सञ्चालन गरिएको छ । स्थानीय तहले भुक्तानी लिन आउने जो–कोहीलाई आफ्नो बैंक खाताको चेकको फोटोकपी कागजातका साथ संलग्न गर्न अनुरोध गर्ने गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






