सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण


     एभरेस्ट आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित





गलकोट । चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्तेलहरजस्तै हिमशृङ्खलाले त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई नलोभ्याउने कुरै भएन ।

हल्जुरेडाँडाबाट देखिने सूर्योदयले त दार्जलिङको झल्को नै मेटाउने गरेको छ । सूर्योदय हेर्नका लागि दार्जलिङ पुग्ने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्नेमा दुईमत छैन ।म्याग्दीको सदरमुकाम बेनी बजार, बागलुङ बजार र पर्वतको कुश्माबजार एकसाथ देख्न सकिने उक्त डाँडाले बनौप्रति पर्यटकलाई आकर्षित गरिरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौ अहिले सडक कालोपत्र भएपछि झनै बढी चर्चामा आउन थालेको हो । कला, संस्कृतिको धनी रहेको बनौगाउँमा मगर समुदायको बाहुल्यता रहेको छ ।

उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो ।उकालो कच्ची सडक भएका कारण कालोपत्र नहुँदा बनौ पुग्नै सास्ती भए पनि अहिले बनौसम्मै सडक कालोपत्र पुगेपछि आन्तरिक पर्यटक यहाँ आउन थालेको जलजला गाउँपालिका–९ बनौका अध्यक्ष गौबहादुर पुनले बताए ।उच्च पहाडी भेगमा रहेकाले त्यहाँ उत्पादित आलु निकै स्वादिष्ट छ । त्यहाँ पुगेकाहरुले बनौको मुख्य बाली आलु खोजी–खोजी कोसेली लैजाने गरेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीबाट करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने भएपछि तीन जिल्लाका आन्तरिक पर्यटकको रोजाइ बनौलेक बन्न थालेको छ ।यस स्थानमा चिसो मौसम र हिउँ पर्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीय अमबहादुर गर्बुजाले बताए ।यस क्षेत्रामा पर्यटकका लागि होटलको समेत व्यवस्था छ । गर्मीले आजित बनेका मानिस शीतलताका लागि सेमत बनौ पुग्ने गरेका छन् । सूर्योदय हेर्नकै लागि नेपालीहरु टाढा–टाढा पुग्दै आए पनि पक्की सडकको पहुँचमै आकर्षक पर्यटकीय गन्तव्य भएपछि त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । बनौको विषयमा आफूले सुनेभन्दा आकर्षक स्थान रहेको बागलुङ बजारबाट बनौ पुग्नुभएका पर्यटक शङ्कर जिसीले बताए ।

उनले बनौको प्रचार–प्रसार नपुगेको भन्दै यस स्थानमा धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना रहेको बताए । अहिले बनौ लेकमा टेण्ट बोकेर पुग्ने र लेकमै रात बिताउने गरी बागलुङ, पर्वत तथा म्याग्दीका पर्यटक आउने गरेको बनौका युवा विश्व पुर्जा मगरले जानकारी दिए ।उनले शुक्रबार बेलुका बसेर बिहान दृश्यावलोकन गरेर जाने गरी कर्मचारीसमेत यस स्थानमा आउने गरेको बताए । यस क्षेत्रमा थप पूर्वाधार भने बनाउन बाँकी नै छ । बनौ लेकको डाँडाबाट तीन जिल्लाका सदरमुकामसँगै धवलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका दर्जनाँै हिमशङ्खलासमेत देख्न सकिन्छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।