कार्कीको विषयमा आएको समाचारप्रति गण्डकी खेलकुद परिषदको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित




पोखरा । काठमाण्डौंमा बिहीबार सम्पन्न खेलमा सहभागी एक खेलाडीप्रति आएको समाचार प्रति गण्डकी प्रदेश खेलकुद परिषदले ध्यानकार्षण भएको जनाएको छ ।

राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत बिहीबार भएको एथलेटिक्स खेलको तीन सय मिटर दौड प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी बादल कार्कीको विषयलाई लिएर आएका समाचारप्रति परिषदले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यही असार २८ देखि ३० गतेसम्म काठमाण्डौंमा आयोजना भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत हिजो भएको एथलेटिक्स खेलको तीन सय मिटर दौड प्रतियोगितमा गण्डकी प्रदेशबाट सहभागी कार्कीको विषयलाई लिएर अनलाइन खबर डटकमले ‘निर्देशिका विपरित अन्तराष्ट्रिय पदक विजेता खेलाडी प्रतिस्पर्धामा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

विज्ञप्तीमा समाचारमा उल्लेख गरिएको गण्डकी प्रदेशको प्रतिनिधित्व गरी सहभागी भएका कार्की अन्तराष्ट्रिय पदक विजेता खेलाडी हुन भन्ने विषय गलत रहेको भनिएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदका टोली नेता खगेन्द्र क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भारतमा भएको क्रसकन्ट्री च्याम्पियनसिप अन्तराष्ट्रिय स्तरको आधिकारीक प्रतियोगिता नभई आमन्त्रित प्रतियोगिता मात्र रहेको र उक्त प्रतियोगिता ट्रयाक एण्ड फिल्डसँग समेत असम्बन्धित भएको भनिएको छ ।

उनले विज्ञप्तीमा यस्ता खालका भ्रमपुर्ण समाचारले खेल क्षेत्रमा आफ्नो भविष्य देख्ने कलिला खेलाडीहरुको मनोभावनामा गम्भीर आघात पुगेको भन्दै उक्त समाचारबाट आम खेलप्रेमीहरुलाई भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।

साथै उक्त विषयको उठान भएपछि राष्ट्रिय खेलकुदका प्राविधिक र आयोजक समितिमा गम्भीर छलफल भई अन्तराष्ट्रिय स्तरको अफिसियल प्रतियोगिता नभएको भन्ने ठहर भएपछि मात्र कार्कीलाई पदक वितरण गरिएको विज्ञप्तीमा जनाइएको छ ।
बिहीबार भएको राष्ट्रपति रनिङ शिल्डमा बादलले ३ हजार मिटर दौडतर्फ रजत पदत जितेका थिए ।

सो स्पर्धामा कर्णाली प्रदेशका अजय बिकले ९ मिनेट ४०.८ सेकेण्ड टाइमिङसहित स्वर्ण जित्दा साफ कांस्य विजेता बादलले ९ मिनेट ४१.४ सेकेण्डमा दूरी पूरा गरका थिए । चार गुणा चार सय मिटर रिले दौडमा पनि बादल सम्मिलित गण्डकी प्रदेश टोलीले रजत पदक जितेको छ ।

बाग्लुङ काठेखोला गाउँपालिका, ७ रेसका स्थानीय बासिन्दा बादल श्रीरेस नुन्थाला माविमा १० कक्षामा अध्ययनरत छन् । १५ वर्षीय बादलले स्थानीय तह हुँदै जिल्ला र प्रदेशमा पहिलो भएर केन्द्रीय प्रतियोगितामा सहभागी भएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।