कृषि उपकरण तथा स्यालो बोरिङग वितरण


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




सप्तरी । सप्तरीको कृषि ज्ञान केन्द्रले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङगसहितका सामग्री वितरण गरेको छ ।

जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यले आयोजित एक कार्यक्रममा केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेसिन, स्यालो बोरिङग र कमरसियल मोटरलगायत कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो ।

तीन आर्थिक वर्षमा सप्तरी जिल्लामा एक हजार ५७३ जनालाई स्यालो टु्युवेल वितरण गरिएको थियो । वितरण गरिएका सामानमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो टु्यु्वेल १७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन छ र पावर टिलरमा प्रयोग हुने रिपर तीन थान रहेको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले आव २०७८÷७९ को स्वीकृत कार्यक्रमअन्तर्गत एक हजार ५७३ स्यालो बोरिङग वितरण गर्दा छ हजार २९२ बिघा खेतीयोग्य जग्गामा २४ घण्टा सिँचाइ पुगेको बताए । साथै स्यालो बोरिङ्ग वितरणले किसानको घर–घरमा पानी र घर–घरमा आम्दानी पनि बढेकाले कृषि यान्त्रिक वितरणले ठूलो सहयोग गरेको उनको भनाइ थियो ।

वैकल्पिक सिँचाइको व्यवस्था, श्रमिक समस्या समाधान, लागत घटाइ उत्पादन वृद्धि र किसानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । सबै स्थानीयतहका किसानलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा उक्त उपकरण उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले युवा विदेशिने गरेको र खेतमा काम गर्ने मान्छेको अभावमा किसानले समस्या भोगिरहेका अवस्थामा यस्तो सहयोगले धेरै राहत प्रदान भएको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।