प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौ – नेपाली कांग्रेसले आगामी प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज सोमवार सम्पन्न बैठकले आउँदो सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले संवादमार्फत गठबन्धन गर्नेबारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको जानकारी दिए ।

पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिकको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

यस्तै बैठकले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहेको केन्द्रीय लेखा समिति पनि गठन गरेको छ ।

ती समितिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता महतले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।