युरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित




दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल युरोपेली संघ (ईयु) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्बजनिक गरेको प्रतिवेदनमा ईयुको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको हो।

ईयुको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनु पर्ने अवस्था रहेको छ भने यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ।

खडेरीको सबैभन्दा बढी प्रभाब इटाली र यहाँको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको ‘पो रिभर बेसिन’ले खडेरीको उच्चतम स्तर सामना गरिरहेको रिपोर्टमा उल्लेख छ।

स्पेनमा हाल १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य बर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको उक्त रिपोर्टमा उल्लेख छ। त्यस्तै, पोर्चुगलमा जलविद्युत ऊर्जा उत्पादन गर्ने पानी गत सात वर्षको औसतभन्दा आधा कम छ।

यूरोपली मौसमविज्ञहरूले पानीको अभाव र तीव्र तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा बालीको उत्पादन कम हुने चेतावनी दिए।

ईयुको मौसम पूर्वानुमान शाखाले पनि यस पहिले नै खडेरीको पूर्वानुमान गरेको छ। शाखाले ‘अत्यन्तै गम्भीर स्थिति’ को सामना गर्नुपर्ने र कृषि, ऊर्जा र पानीको आपूर्तिमा पर्ने प्रभावलाई झनै चर्काउने जनाएको थियो।

एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।