पहिराले रित्तिँदै बस्ती


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित





गलेश्वर । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् ।जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि यस्तै छ । गाउँको पुछारमा भीषण पहिरो छ ।

शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका पनि पानी पर्दा अनिदा आँखा बनाउँदै बस्न बाध्य भएका छन् । रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् ।

पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताएका छन।गाउँपालिकाका कुइनेमङ्ले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताए । यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धूपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बूडिचौरलगायतका बस्ती बाढीपहिराको उच्च जोखिममा छन् ।

ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए। यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो ।

बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वरपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीयवासी धर्म रोकाले बताए ।त्यसैगरी बेनी नगरपालिका– ३ को तोराखेत गाउँ पनि पहिरोका कारणले रित्तिएको छ । एक दशक अघिसम्म ७० घरपरिवारको बसोबास रहेको तोराखेतमा अहिले १० घर परिवारको मात्र बसोबास रहेको छ ।

विसं २०६० देखि तोराखेतमा पहिरो चल्न सुरु भएको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताए । पहिरोकै कारण तोराखेतबाट विस्थापित भई बगरफाँटमा बस्दै आउनुभएका सापकोटाका अनुसार त्यसपछि लगातार रुपमा पहिरो चल्दै आएकोले तोराखेतका बासिन्दा भकुण्डे, फाँपरखेत र बगरफाँटमा बसाइँ सरेका छन् ।

पहिरोले त्रासकाबीच पनि आफू गाउँमै बस्न बाध्य रहेको स्थानीयवासी कुन्दा परियारले बताए ।बस्ती माथिबाट बिना इञ्जिनीयरिङ खनिएको सडकका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।