डोटी । डोटीको सायल गाउँपालिकामा बाढी पहिराका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका छन् । गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । विगतमा डोजर प्रयोग गरी धमाधम ग्रामीण सडक निर्माण गरिएका क्षेत्रका सडक किनारका बस्ती पनि अहिले पहिराको जोखिममा रहेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए ।
गाउँपालिकाको तथ्याङ्कअनुसार वडा नं ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं २ को सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् ।
यति मात्र नभई यहाँका पहिराको जोखिममा रहेका बस्तीमा सञ्चारका साधनले समेत काम नगर्ने गरेका कारण रातिको समयमा समस्या पर्दा तत्काल कहीँ कतै खबर गर्नसमेत नसकिने अवस्था रहेको वडा नं ४ का वडाध्यक्ष जगतबहादुर साउँदले बताए । पहिराको जोगिममा रहेका सायलका बस्तीहरुमा सञ्चार सम्पर्क सहजताका लागि फोनका टावरहरु निर्माण गर्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गत वर्षको असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षा र बाढीपहिरामा परी उक्त पालिकामा ६ जनाले ज्यान गुमाएका थिए । बाढी र पहिराका कारण २०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए भने ४१ घरहरुमा पूर्ण रुपमा क्षति भएको थियो । खेतीयोग्य जमिनसहित खेतीबाली बाढी पहिराले पुरेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







