‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित





बाकेँ । डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायले बताए । उनका अनुसार हरेक छोरीको खातामा रु १० हजार बैंकमा जम्मा हुन्छ । सो रकम छोरी २० वर्ष नपुगी निकाल्न पाइँदैन । अभिभावकको मृत्यु भएमा वा आफैं कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनेको छ ।

यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाको नाममा कन्या मुद्दति शिक्षा कार्यक्रम लागू गरिएको प्रमुख उपाध्ययले जानकारी दिए ।सोका लागि यस वर्ष रु ४० लाख छुट्याइएको छ । यो कार्यक्रममा समेटिन बालिका अस्पतालमा जन्मिएको, जन्मदर्ता गर्नुपर्ने, छोरी एसइईसम्म पढेको तथा वडा कार्यालयको सिफारिस हुनुपर्ने छ ।

उक्त कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरिएको छ । त्यसका साथै अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बीमा पनि गराइएको छ ।

उक्त गाउँपालिका शिक्षा तथा चेतनाका दृष्टिले पिछडिएको क्षेत्र मानिन्छ । शिक्षक गोपीचन्द्र बर्माले धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको सुनाए । विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंकको खाता खोलिदिएको गाउँपालिकास्थित स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनले कार्यक्रम आकर्षक र प्रभावकारी भएको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।