मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन्।

मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा मेयर आचार्य देशभरका ७५३ स्थानीय तहको तर्फबाट सदस्य तोकिएको बताइन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षता रहने समितिमा ७ वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ।

प्रमुख आचार्यलाई संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तह तर्फको विषयगत समितिको सदस्य पदमा नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) को यही साउन १ गतेको निर्णय अनुसार बुधबार सदस्य तोकिएको हो।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिन्छ।

प्रमुख आचार्यले देशभरका स्थानीय तहमध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे प्रतिक्रिया दिए।

उनले पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत व्यक्त गरे।

‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं,’ उनले भने, ‘संघीय पर्यटनमन्त्रीज्यूले यसको प्रक्रिया आगाडि बढाएको र क्याबिनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ। मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।