म्यानमारमा ४ जना प्रजातन्त्रका अभियान्तालाई मृत्युदण्ड


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




म्यानमारका सैन्य अधिकारीले ४ जना प्रजातन्त्र अभियान्तालाई ‘आतंकवादी कार्य’ गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्।

पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्डको दिइएको यो पहिलो घटना हो।

गत जनवरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। ४ जनालाई नै गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको थियो। साथै आफ्ना विरोधीहरूमाथि रक्तपातपूर्ण कारबाही गरेको पनि उनीहरूमाथि आरोप थियो।

मृत्युदण्ड दिइएको मध्येमा प्रजातन्त्रवादी अभियान्ता जिम्मी भनेर चिनिने क्याव मिन यु र पूर्वसांसद तथा हिप–हप कलाकार फ्यो जेया थाउ रहेको ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ।

५३ वर्षीय क्याव मिन र ४१ वर्षीया जेया थाउले गत जुनमा सजायविरुद्धमा अपिल गरेका थिए। जेया थाउ म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका सहयोगीसमेत हुन्।

मृत्युदण्ड पाउने अन्य २ जनामा ह्ला म्यो आङ र आङ थुरा जाव छन्। ४ जनालाई नै आतंकवाद विरोधी कानून र दण्डसंहिता अन्तर्गत अभियोग लगाइएको थियो।

असिस्टेन्स एशोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी) ले म्यानमारमा अन्तिम न्यायिक मृत्युदण्ड सन् १९८० को दशकमा भएको बताएको छ।

गत महिना सैन्य प्रवक्ता जाव मिन टुनले मृत्युदण्डको बचाउ गर्दै यो धेरै देशमा प्रयोग भएको बताएका थिए। फ्यो जेयर थाउकी श्रीमती थाजिन न्युन्ट आङले आफ्नो पतिको मृत्युदण्डबारेमा आफूलाई नभनेको बताइन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।