फेवाताल बिचमा रहेको ताल वाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्कियो, पुर्ननिर्माणमा ढिलाई


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको ताल वाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्किएको छ । फेवातालको बिचमा रहेको सो भुईंतलासहित तीन तले मन्दिर तीन ईञ्च दक्षिणतर्फ ढल्किएको हो । जसका कारण मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थीमा जोखिम बढेको छ । मन्दिर हालसालै ढल्किएको भने होईन । करीब ३ वर्षअघि नै मन्दिर दक्षिणतर्फ ढल्किएको पत्ता लागेको ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए ।

उनका अनुसार २०७२ सालको भुकम्पले मन्दिरका अधिकांश भाग चर्काएको थियो । सोहि भुकम्पका कारण मन्दिरको दक्षिणतर्फ रहेको आँपको रुखपनि ढल्कियो । रुख ढल्किदा त्यसको जरा उखेलिएका कारण पछि त्यो रुख सुकेर म¥यो । रुख सुकेपछि त्यसलाई निकालिएको अध्यक्ष कुँवरले बताए । रुख निकालेपछि मन्दिर केहि ढल्किएको जस्तो देखेपछि पुरातत्वविद्हरुलाई ल्याएर देखाउँदा मन्दिर तीन ईञ्च ढल्किएको पुष्टि भएको उनले बताए । हामीले पुरातत्व विभागका पुरातत्वविद् सन्दीप खनाललाई जानकारी गरायौं,उनले भने,‘पछि उहाँको नेतृत्वमा दुई जना ईञ्जिनियरसमेत आएर नापजाँच गर्दा मन्दिर ढल्किएको पुष्टि भयो ।’

मन्दिर ढल्किनुको कारण ठ्याक्कै भन्न नसकिने अध्यक्ष कुँवरले बताए । ‘भुकम्पका कारण मन्दिर जिर्ण बन्नु, ठूलठूला मुसाले मन्दिरको तलसम्मै दुलैदुलो बनाउनु, रुखको जरा मन्दिर भित्रसम्मपनि पुग्नुजस्ता कारणले मन्दिर ढल्किएको हुनसक्छ’–उनले भने ।

मन्दिर ढल्किएर जोखिम बढेपनि यसको पुर्ननिर्माणको प्रक्रिया अगाडि बढेको छैन । ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर पुर्ननिर्माणका लागि पुरातत्व विभाग र गुठी संस्थानलाई आग्रह गरिसकेको छ । तर पुरातत्व विभाग र गुठी संस्थानले पुर्ननिर्माणबारे निर्णय गरिनसकेको अध्यक्ष कुँवरले बताए । ‘हामीपनि अलिकति सहयोग गर्न सक्छौं तर पुरातत्व विभाग र गुठी संस्थानले नै यसको पुर्ननिर्माणमा भूमिका खेल्नुपर्छ’–उनले भने ।

मन्दिर ढल्किएपनि दैनिक पूजाआजा चलिरहेको छ । तर कतिबेला मन्दिर भत्किएर किच्ने हो कि भन्ने चिन्ता पूजारी र गुठी व्यवस्थापन समितिलाई छ । पुर्ननिर्माणबारे निर्णय नगर्दा हामीलाई न पूजा गर्न दिनु, न पूजा रोक्नु भएको छ, अध्यक्ष कुँवरले भने,‘पूजा गर्न दिदा जोखिम छ, पूजा गर्न नदिदा दर्शनार्थी निराश हुन्छन् ।’

मन्दिर पुर्ननिर्माणका लागि करीब एक करोड लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए । भुईंतलासहित तीन तले मन्दिरको दोश्रो तलामा मात्रै २० वटा टुँडाल छन् । ती मध्ये केहि काम लाग्ने छन् भने केहि जिर्ण बनेका छन् । पुर्ननिर्माण गर्दा मन्दिरको डिजाईन परिवर्तन गर्न नपाईने भन्दै उनले भने,‘मन्दिरको डिजाईन त्यहि राखेर मन्दिर चार फिट उत्तरतर्फ सारेर बनाउँदा राम्रो हुन्छ ।’ त्यसो गरेमा पूर्वबाट पसेर दक्षिण ढोकाबाट निस्केर मन्दिर परिक्रमा गर्न सजिलो हुने उनको भनाई छ । अहिले तालसँगै जोडेर निर्माण गरिएकाले मन्दिर परिक्रमा गर्न कठिनाई भएको उनले बताए । मन्दिर पुर्ननिर्माणसँगै पूजापाठलाईपनि निरन्तरता दिन सकिने उनको भनाई छ । मन्दिर भन्दा उत्तरतर्फको भागमा मूर्ती सारेर पूजा गर्दा पुर्ननिर्माणमा समस्या नपर्ने उनले तर्क गरे । मन्दिरमा दैनिक सयौं दर्शनार्थी आउने गरेका छन् भने दशैंपछिको कोजाग्रत पूर्णिमामा एकैदिन १५ हजार बढीले दर्शन गर्दछन् । ताल वाराही मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

ताल वाराही मन्दिर तत्कालीन राजा महेन्द्र विर विक्रम शाहदेवले वि.स.२०१७ सालमा मन्दिर निर्माण गराएका थिए । तत्कालीन समयमा एक लाख २० हजार खर्च गरेर कलात्मक काठ, टुँडाल र माटोको प्रयोग गरेर बनाइएको छ । सिमेन्टकोजस्तै काम गर्ने सुर्की र माटोको प्रयोग गरिएकाले मन्दिर बलियो रहेकाले अहिलेसम्म धानिएको अध्यक्ष कुँवरले बताए ।

ताल वाराही मन्दिर नेपालका प्रथम राजा कुलमण्डन शाह (खाँ)ले मन्दिर स्थापना गराएका थिए । किम्वदन्ती अनुसार पोखरामा त्यसताका भीषण बाढी आयो । बाढीले फेवाताल माथि रहेको सिद्ध वराहमा वराह र वाराही दुई वटा थुम्को मध्ये वाराही थुम्को बगाएर तालमा ल्याईपु¥यायो । त्यहि रात कुलमण्डन शाहको सपनामा आएर वाराही देवीले ‘मलाई बाढीले बगाएर तालमा ल्याएको छ । म जहाँ छु त्यहिँ सानो मन्दिर थपना गरेर पूजापाठ गर्नू’ भनेपछि भोलिपल्टै मन्दिर स्थापना गरेर पूजापाठ शुरु गरिएको किम्वदन्ती रहेको अध्यक्ष कुँवरले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।