पहिराले डुम्रे बेँसीसहर सडक अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

लमजुङ । लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ ।

आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले आज राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए ।

उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बन्दा काठमाडौँ, पोखरा, चितवन लगायतबाट बेँसीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले पहिरो झरिरहेको छ ।

करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ । ४२ किलोमिटरको यस सडकमा वर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।