एसईईको मार्कसिटमै अलग–अलग मूल्याङ्कन गरिने


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित




पोखरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्ष एसईई को नतिजा बुधबार सार्वजनि गर्ने तयारी गरेको छ ।

२०७८ सालको एसईईको नतिजामा यसपटकबाट मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने बोर्डले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ ।

परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ४ दिइनेछ । ८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ ।

५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिइन्छ र जीपीए २ दशमलव ४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई ‘डी’ प्लस ग्रेड मानिने र जीपीए २ दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १ दशमलव ६ दिइनेछ ।

३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।