विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८÷७९ मा जंगली जडीबुटी संकलनबाट ४० लाख १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जंगली जडीबुटी संकलन र काठ विक्रीबाट उक्त राजस्व संकलन भएको हो।
सो आवमा जिम्बु संकलनबाट ३९ हजार ९८ रुपैयाँ, वन लसुनबाट ३४ हजार ५१२ रुपैयाँ, गुची च्याउबाट १७ हजार २३३ रुपैयाँ, निगालोबाट २२१ रुपैयाँ, यार्सागुम्बाबाट ३६ लाख २९ हजार ५०१ रुपैयाँ र टिम्बरबाट दुई लाख ९५ हजार ४९९ रुपैयाँ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिएका छन्।
उनका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट विक्री भएको छ। गत वर्ष कोभिड– १९ का कारण जंगली जडीबुटी तथा काठ विक्री गर्न समस्या भएको थियो।
गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताए। कुनैपनि रोगको संक्रमण नहुँदा सहज रूपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी संकलनमा आउनेको संख्या बढेपछि राजस्वमा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट रू. १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो।
संकलित राजस्व संघीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइन्छ। वित्तीय आयोगले ५० प्रतिशत संघ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५÷२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताए। जिल्लाका ४ स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको उनले बताए।
सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको उनले जानकारी दिएका छन। मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्करलगायतका स्थानबाट जंगली जडीबुटी संकलन गरिन्छ। चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन्।
नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जंगली जडीबुटी संकलन गरिन्छन्। ठेकेदारले जंगली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिप्ने गरिन्छ। ठेकेदारले कममा ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गर्दछन्। करीब २ महीना खर्कमा बसेर जंगली जडीबुटी संकलन गर्दछन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







